ब्रेकिङ न्युज
प्रकाशित मिति: January 18,2023
ईखबर माघ ४ बुधबार/पोखरा अन्तराष्ट्रिय विमानस्थल नजिकै रहेको सेती खोचमा विमान दुर्घटनामा परि मृत्यु हुने मध्ये २२ जनाको शव परिवारलाई दिईएको छ । पोखरामा परिक्षाण भएका सबै शव उनिहरुको परिवारलाई बुझाईएको हो ।
मङ्गलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए । उहाँका अनुसार मङ्गलबार नै ४८ शवलाई काठमाडौँस्थित शिक्षण अस्पताल पुर्याइएको थियो भने एक जनाको स्थिति अझै अज्ञात रहेको छ ।
पहिचान गर्न नसकिएका विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौँमा परीक्षण सुरु भएको छ । शव क्षतविक्षत भएका कारण डिएनए परीक्षण गर्नुपर्ने भएकोले आफन्तले शव पाउन अझै केही दिन कुर्नुपर्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए ।
मंगलबार सेती नदीको पानीको सतह घटाएर गोताखोरसहित ड्रोनको प्रयोग गरी शव खोजिएको थियो । दुर्घटनास्थल देखी २ किलो मिटर तल एउटा शव भेटिएको हो । सोमबार खोजिकार्य गर्दा हात, करङ र टाउकाको भाग छुट्टाछुट्टै भटिएको हुनाले एक व्यक्तिको वा दुई व्यक्तिको शव हो भन्ने परिक्षण पछि मात्र थाहा हुने केसिले बताए । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाईन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमानमा चालकदलका चार जनासहित ७२ जना सवार रहेका थिए ।