ब्रेकिङ न्युज


#दुर्घटना

उदयपुरको कटारी २ मा करेन्ट लागेर एक युवाको ज्यान गयो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 6,2022


RatoParkhalउदयपुरको कटारी २ मा करेन्ट लागेर एक युवाको ज्यान गयो

ईखबर मंसिर २० मंगलबार/उदयपुरको कटारी नगरपालिकामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार साँझ कटारी , २ को गराँसमा करेण्ट लाग्दा ३० वर्षिय बिमबहादुर मगरको ज्यान गएको हो । ईलाका प्रहरी कार्यालय कटारीका अनुसार घर बनाउनका लागि डण्डी मिलाउने क्रममा विद्युत प्रसारण लाईनमा छोएर करेण्ट लाग्दा मगरको मृत्युभएको हो ।
करेण्ट लागेर घाईते भएका मगरलाई कटारी अस्पत्तालमा उपचारका लागि ल्याईएकोमा अस्पत्तालले मृत घोषणा गरेको पनि प्रहरीले जनाएको छ । घर बनाउनका लागि ल्याईएको डण्डी मिलाउँदा उचाल्ने क्रममा ३३ केभी प्रशारण लाईनमा मगरलाई करेण्ट लागेको हो ।
घटनाको पुष्टि गर्दै वडाध्यक्ष प्रेम थापाले गराँस क्षेत्रमा करेण्ट लाग्ने क्रम नियमित भएकाले यसको समाधानका लागि पहल गर्ने बताउनुभयो । ‘यसै क्षेत्रमा गतसाल करेण्ट लाग्दा जंगली भालु समेत मरेको थियो । ’थापाले भन्नुभयो –‘पहाडसँगै तारहरु रहेकाले केही नजिकहुँदा करेण्ट लाग्ने क्रम बढेको छ ।’
नेपाल विद्युत प्राधिकरण शाखा कटारीका प्रमुख सन्तोष कार्कीले थप अनुसन्धान गर्ने बताउँदै तारहरु उचाईमा नै रहेको बताउनुभयो । ‘घटनाअनुसार पहिले खाल्डो भएको ठाउँमा माटो भरेर उचाई बनाउँदा डण्डीले तारमा छोईएको भन्ने आएको छ । ’कार्कीले भन्नुभयो –‘थप अनुसन्धान गर्छौ ।’
चुरेबन क्षेत्रसँगै जोडिएको गाउँमा करेण्ट लाग्ने जोखिम धेरै रहेको स्थानीय बताउँछन् । त्यस क्षेत्रमा अन्य स्थानीयलाई पनि यसअघि करेण्ट लागेको स्थानीयले बताए ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो