#सामाजिक

खोटाङमा विद्यालयको हिसाब खोज्ने शिक्षिकामाथि प्रधानध्यापकबाट हातपात

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 19,2022


RatoParkhalखोटाङमा विद्यालयको हिसाब खोज्ने शिक्षिकामाथि प्रधानध्यापकबाट हातपात

ईखबर असार ५ आइतबार/खोटाङमा विद्यालयको हिसाब खोज्ने एक शिक्षिकामाथि प्रधानध्यापकले हातपात गरेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् ।
प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट अस्पतालमा भर्ना गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आयव्ययबारे चासो राख्दा प्रधानाध्यापक लक्ष्मीले कुटपिट गरेको शिक्षक कार्कीले बताइन् । व्यवस्थापन समितिमा गोमा शिक्षक प्रतिनिधि हुन् ।
व्यवस्थापन समितिको बैठक विद्यालयमा नबस्ने र बैठकबारे जानकारी नै नगराउने गरेको गोमाको भनाई छ ।
विद्यालयमा २७ लाख रुपैयाँ बराबरको भवन, १७ लाख रुपैयाँ बराबरको शौचालय बनिरहेको र मसलन्द खर्च, पालिकाले दिने खर्च पनि पारदर्शी नभएकोले पारदर्शी बनाउन माग गर्दा कुटिएको गोमा बताउँछिन् । उनी भन्छिन् ‘म हिसाब माग्नुपर्ने ठाउँमा भएर नै माग गरेको हो । अहिलेसम्म विद्यालयको आयव्यय देखाइएको छैन । कता कता के खर्च भयो भन्दा तँलाई हर हिसाब देखाउँदिन भन्दै एक्कासी कुटपिट गर्न थाल्नुभयो ।’
विद्यालयकी प्रधानाध्यापक पौडेलले भने आफूले कुटपिट नगरेको बताइन् । विद्यालयको आय व्ययबारे शिक्षक कार्कीले चासो राखेपछि बोलाइएकोे बैठकमा सामान्य ठेलाठेल भएको पौडेलले स्वीकार गरिन् ।
सँगै काम गरेको करिब १५ वर्ष भएकोले मिलेर नै काम गरेको तर १० दिन यतादेखि भने शिक्षक गोमाले चिर्कटोमा टिपेर ल्याउने र हिसाब माग्ने गर्न थालेपछि बैठक राखिएको प्रधानाध्यापकको भनाइ छ । उनले भनिन् ‘पछिल्लो समय म प्रधानाध्यापक भएपछिको हिसाकिताब देखाउनुपर्छ भन्न थालेकाले उहाँकै कारण बैठक राखिएको थियो ।’
यो विद्यालयमा पहिला कार्की नै प्रधानाध्यापक थिइन् । उनले नभ्याउने भएपछि आफूलाई जिम्मेवारी दिइएको पौडेलले बताइन् ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो