#सामाजिक

घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङक अनुसार उदयपुरमा कृषि उद्योग बढी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: January 1,2022


RatoParkhalघरेलु तथा साना उद्योग कार्यालयको तथ्याङक अनुसार उदयपुरमा कृषि उद्योग बढी

ईखबर पुस १७ शनिबार/घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख पाक्रम खाँ (चौधरी) का अनुसार विभिन्न आठ किसिमका उद्योगहरु मध्ये कृषि तथा वन पैदावारमा सर्बसाधारणको बढि आकर्षण देखिएको छ । जिल्लामा कुल उद्योग संख्या ३ हजार ९७८ मध्ये १ हजार ५९६ वटा कृषिसंग सम्बन्धीत रहेका छन् । उर्जामुलक, उत्पादनमुलक, खनिज, पूर्वाधार, पर्यटन, सुचना प्रविधि, सेवामुलक र कृषितथा वन पैदावार गरी आठ किसिमका उद्योगहरु सो कार्यालयमा दर्ता हुन्छन् ।

कृषि अन्तर्गत माछापालन, पशुपालन, कुखुरापालन, दुध उत्पादन, मासु उत्पादन, च्याउखेती, फलफुलखेती, तरकारीखेती आदि पर्दछन् । यी कामहरु परापूर्व कालदेखि नै गर्दै आएको र कम लगानीबाट पनि सुरु गर्न सकिने उद्यमी रामकुमार राईको भनाई छ । पछिल्लो समय यी कामहरु आधुनिकरुपले ब्यवसायिकरण बन्दै गएको छ । ब्यवसाय अनुरुपको विभिन्न मेसिन, औजार तथा साधनसमेतको प्रयोग बढेको छ ।                                                                कृषि अन्तर्गतका उद्योग र उद्यमीहरुलाई सरकारलेसमेत सहुलियत कर्जा, प्राविधिक सहयोग, विउविजनको ब्यवस्था गरेको छ । घरेलु कार्यालय लगायतबाट मेसिन, औजार अनुदानमा उपलब्ध गराउने गरिएको छ । यी कारणहरुले पनि सर्बसाधारणको आकर्षण कृषि उद्योगतर्फ बढि भएको पाइएको छ ।

घरेलु कार्यालयको रेकर्डअनुसार जिल्लाको आठ पालिकाहरु मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ९६४ उद्योग दर्ता छन् । सबैभन्दा कम ताप्ली गाउँपालिकामा १८ वटा मात्र छन् । कटारी नगरपालिकामा ४०६, चौदण्डीगढी नगरपालिकामा २८२, बेलका नगरपालिकामा १३३, उदयपुरगढी गाउँपालिकामा १४३, रौतामाई गाउँपालिकामा ७६ र लिम्चुङबुङ गाउँपलिकामा ४४ वटा दर्ता छन् । जिल्लामा घरेलु कार्यालयमा वाणिज्यतर्फ दर्ता संस्थाहरु ३ हजार २७० वटा दर्ता छन् । वाणिज्यतर्फ पनि सबैभन्दा बढि त्रियुगा नगरपालिकामा ७७७ वटा दर्ता छन् भने सबैभन्दा कम ताप्लीमा ४ वटा मात्र दर्ता छन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा घरेलु कार्यालयबाट उद्योग दर्ता तथा नविकरणवापत ७६ लाख ५ हजार ६९० रुपैया राजस्व संकलन गरेको जनाएको छ । पछिल्लो समय उद्योग दर्ता तथा नविकरण गर्नेको संख्या बढ्दो छ । सरकारको सहयोग, सेवा र अनुदानका लागि दर्ता तथा नविकरण अनिवार्य भएको र जनचेतना बढेको कारण सर्बसाधारण, ब्यापारी, ब्यवसायी, उद्यमीहरु दर्ता तथा नविकरणमा आउने गरेको कार्यलय प्रमुख खाँले बताउनु भयो । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो