ब्रेकिङ न्युज


#सामाजिक

सर्लाहीकाे बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 28,2021


RatoParkhalसर्लाहीकाे बयलवास बजार क्षेत्रमा निषेधाज्ञा जारी

ईखबर पुस १३ मंगलबार/सर्लाहीको बयलबास बजार र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । प्रहरी भ्यानको ठक्करबाट व्यापारीको ज्यान गएको विषयलाई लिएर बयलवासका व्यापारीले  प्रदर्शन जारी राखेपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा जारी गरेको हो ।

आज मङ्गलवार दिउँसो ३ बजेदेखि सुरु भएको निषेधाज्ञा भोलि बुधवार बेलुकी ७ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर बाहिर हिँडडुल गर्न, भेला हुन, सभा तथा अन्य गतिविधि गर्न प्रतिबन्ध लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय व्यापारीले आज बिहानैदेखि उनीहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शनलाई रोक्ने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडपसमेत भएको छ । पीडित पक्षले घटनाको छानबिन हुनुपर्ने र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गर्दै प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको हो । प्रदर्शनमा निस्किएका स्थानीय व्यापारीमाथि प्रहरीले १२ भन्दा धेरै अश्रुग्यासको सेल प्रहार गरेको छ ।

गएको आइतवार राति इलाका प्रहरी कार्यालय बयलवासको जीपले स्थानीय व्यापारी ३० वर्षीय रामकुमार महतोलाई ठक्कर दिँदा ज्यान गएको थियो । प्रहरीले  महतोको ज्यान गएपछि घटना लुकाउन खोजेको र मृत्यु नै  शङ्कास्पद भएको भन्दै स्थानीय व्यापारीले टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।

हिजो सोमवार पनि आक्रोशित स्थानीय व्यापारीले प्रहरी कार्यालय घेराउ गर्नुको साथै इलाका प्रहरी कार्यालय हरिपुरको जीपमा समेत आगो लगाएका थिए ।  पीडित परिवारले घटनाको छानबिन नभएसम्म  शव नबुझ्ने अडान राखेको छ । मृतकको शव पोस्टमार्टमपछि जिल्ला अस्पताल सर्लाहीमा राखिएको छ । 


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो