ब्रेकिङ न्युज
प्रकाशित मिति: November 29,2021
ईखबर १३ मङ्सिर सोमबार/विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपाललाई कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनु बाट बच्न उच्च सतर्कता अपनाउन सुझाव दिएको छ ।
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आइतवार एक विज्ञप्ति निकालेर ओमिक्रोन भेरियन्ट अति जोखिमपूर्ण रहेको भन्दै नेपालसहितका देशलाई निगरानी, सामाजिक दुरी, मास्क अनिवार्य, खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालनलगायतका कामलाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।
नेपालमा महामारी कम हुँदै जानु राम्रो भए पनि सीमित स्रोत–साधन र जनचेतनाको कमीका कारण कोरोनाको नयाँ भेरियन्टले ठूलो असर गर्ने भएकाले पूर्वतयारी र सतर्कतालाई जोड दिन डब्ल्यूएचओको आग्रह छ । विदेश आउजाउ गर्नेमाथि उच्च निगरानी गर्न र भिडभाडलाई नियन्त्रण गर्न डब्ल्यूएचओको सुझाव छ ।
अहिले दक्षिण–पूर्वी एसियाका ३१ प्रतिशत नागरिकले पूर्ण र २१ प्रतिशतले कम्तीमा पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । ४८ प्रतिशत अर्थात् एक अर्ब जना नागरिकले अहिलेसम्म पहिलो मात्रा कोरोनाविरुद्धको खोप लगाउन नपाएको डब्ल्यूएचओले जनाएको छ ।