ब्रेकिङ न्युज


#सामाजिक

सिन्धुपाल्चोक बाढी अपडेट : १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 17,2021


RatoParkhalसिन्धुपाल्चोक बाढी अपडेट : १३ जना अझै बेपत्ता, ८० जनाको उद्धार, ३ जनाको शव भेटियो

ईखबर ३ असार २०७८ बिहिवार /  सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीमा अझै १३ जना हराइरहेका छन् । हराइरहेकाहरूको खोजी कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ । 

अहिलेसम्म तीन जनाको शव भेटिएकोमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक रहेका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । ज्यान गुमाउने तीनै जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत रहेका उहाँले बताउनुभयो । 

यस्तै अहिलेसम्म ८० जनाको उद्धार भएको छ । घाइते भएका पाँच जनामध्ये दुई जना डिस्चार्ज भएका छन् भने तीन जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

अहिले मेलम्ची नदीमा पानीको सतह घटेपछि केही राहत भएकाे छ । पानी पर्न कम भएपछि उद्धार र राहत टोलीलाई पनि सजिलो भएको छ । पानी पर्न रोकिएपछि आज नेपाली सेनाको एउटा हेलिकप्टरले हेलम्बुमा खाद्यान्नसहित राहत सामग्री पुर्‍याएकाे थियो । 

बाढी र पहिरोपछि हेलम्बु र मेलम्चीमा बिजुलीको आपूर्ति ठप्प भएको छ । बत्ती नहुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ । हेलम्बु गाउँपालिका १ मा रहेको मेलम्ची खानेपानीको मुख्य हेडवर्क्समाथि पहिरो जाँदा नदी थुनिएको र पछि त्यो बाँध फुट्दा बाढी आएको थियो ।

बाढीले सुरुमा हेलम्बुको तिम्बु बजार बगाउन सुरु गरेको थियो । त्यस्तै पाँचपोखरी गाउँपालिका–३ को भोताङको लार्केबाट पनि त्यही बेला बाढीको बहाव सुरु भएको र दुवै खोला मेलम्चीमा मिसिँदा ठूलो क्षति हुन पुगेको स्थानीयवासीले बताएका छन् । बाढीका कारण मेलम्ची–हेलम्बु र मेलम्ची–भोताङको सडक सञ्जाल सम्पर्क विच्छेद भएको छ । बाढीका कारण मेलम्ची बजार बगरमा परिणत भएको छ ।  


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय