ब्रेकिङ न्युज


#क्रिकेट

त्रिकोणात्मक टि२० फाइनल : नेपाल र नेदरल्यान्ड्स भिड्दै

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: April 24,2021


RatoParkhalत्रिकोणात्मक टि२० फाइनल : नेपाल र नेदरल्यान्ड्स भिड्दै

ईखबर ११ बैशाख २०७८ शनिबार / त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् ।

 

नेपालले पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो । नेपाल ११ वर्षपछि घरेलु मैदानमा उपाधि जित्ने सोचमा हुने छ । नेपालले पछिल्लो पटक सिरिज सन् २०१९ को जुलाईमा मलेसियासँग दुई टि२० खेलमा क्लिनस्विप गरेको थियो ।

सन् २०१९ को सुरुवातमै यूएईसँग तीन ओडिआई तथा टि२० आई सिरिज समान २–१ ले जितेको थियो । नेपालले हालसम्म त्रिकोणात्मक सिरिज भने जितेको छैन । पहिलो त्रिकोणात्मक सिरिज जित्ने सोचमा छ ।

नेपालले यस सिरिजमा ब्याटिङमा सानदर प्रदर्शन गरेको छ । पहिलो खेलमै दुई ओभर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट शतकीय साझेदारी गर्दै १ सय ३७ रनको लक्ष्य ३० बल अगाडिनै १ विकेटको क्षतिमा पूरा गरेको थियो । उक्त खेलमा आसिफ ५४ रनमा अविजित रहँदा कुशलले ६२ रन जोडेका थिए । पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा मलेसियाले प्रस्तुत गरेको १ सय १० रनको विजयी लक्ष्य ४७ बल अगाडिनै १ विकेटको क्षतिमा पूरा गरेको थियो । अन्तिम खेलमा मलेसियाविरुद्ध २ सय १७ रन बनाएको थियो । उत्कृष्ट ब्याटिङले नेपालको मनोबल उच्च छ । ओपनर आसिफ शेख र कुशल भुर्तेलले डेब्यू सिरिजमा उच्च प्रदर्शन गरि रहेका छन् । कुशलले लगातार तीन खेलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान बनाएका थिए । सुरुवाती तीनै टि२० आई खेलमा अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी हुन् । उनीबाट नेपाल उच्च प्रदर्शन चाहन्छ ।

 

अर्का ओपनर आसिफले पनि उत्कृष्ट सुरुवात दिलाउँदै आएका छन् । नेपाल यी दुई युवा खेलाडीबाट सुरुवातसँगै ठूलो इनिङका साथ अन्त्य हुन आवश्यक देखिन्छ । मध्यक्रममा ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई ठूलो इनिङ खेल्नुपर्ने हुन्छ ।

 

कुशल मल्ल, विनोद भण्डारी, सोमपाल कामी र करण केसीबाट उत्कृष्ट अन्त्य चाहन्छ । यी चारै ब्याट्सम्यान ठूला सटको क्षमता राख्छन् । करणले मलेसियासँग १३ बलमा ७ छक्का सहित ४५ रन जोडेका थिए । फाइनलमा अभिनाश बोहरा फर्किने छन् । मलेसियाविरुद्ध डेब्यू गर्दै ३ विकेट लिएका कमलसिंह ऐरी बेन्चमा बस्ने छन् ।

करण र सोमपाल पहिलो रोजाईका तीव्र गतिका बलर हुन् । स्पिनरमा सन्दीप लामिछानेको स्थान पक्का छ । साहब आलम र सुशन भारी मध्य एकले मौका पाउने छन् । मलेसियाविरुद्ध ३ ओभरमा ३६ रन खर्चेका सुशनको भन्दा साहबको सम्भावना बढी छ ।

नेदरल्यान्ड्सका ओपनर टोबियस भिसे र म्याक्स ओडाउडले गर्ने छन् । भिसेले यस सिरिजमा संघर्ष गरेका छन् । म्याक्स ओडाउडाले मलेसियाविरुद्ध १ सय ३३ रनको शतकीय इनिङ खेलेका थिए । नेपालविरुद्ध भने दुबै खेलमा सस्तैमा आउट भएका थिए । नेदरल्यान्ड्सका बेन कुपर र बास डी लिड राम्रो लयमा छन् । नेपाललाई हराउन लिडले ८१ रनको विजयी इनिङ खेलेका थिए । बेन कुपरले ५५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

 

कुपरले मलेसियासँग पछिल्लो खेलमा पनि अर्धशतक प्रहार गरेका थिए । कप्तान पिटर शिलारले तल्लोक्रममा आक्रामक ब्याटिङ गर्दै आएका छन् । यी तीन खेलाडीको लयलाई रोक्न नेपाललाई मुख्य चुनौती हुने छ । नेदरल्यान्ड्सको मुख्य कमजोर बलिङ हो । पाउल भान मिकेरेन र भिभियन किङ्गमा प्रमुख तीव्र गतिका बलर हुन् । शिलार स्पिन र लिड मध्य गतिका अलराउन्डर हुन् । कमजोर बलिङको फाइदा उठाउन आवश्यक देखिन्छ ।

पछिल्लो समय टियुको पिच ब्याटिङ सहयोगी देखिएको छ । जसले ब्याटिङमा दुबै टोलीलाई उच्च प्रदर्शन गर्न आवश्यक देखिन्छ । नेपाल र नेदरल्यान्ड्सबीच ८ टि २० आई खेल भएको छ । नेदरल्यान्ड्स ४ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण रद्ध भएको छ ।डबल राउन्ड रोविनको आधारमा भएको त्रिकोणात्मक सिरिजमा नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्ष स्थानमा थियो ।

 

नेदरल्यान्ड्स ४ खेलमा २ मा जित, १ मा हार र १ मा बराबरीका साथ ५ अंक जोड्दै दोस्रो स्थानमा रहेर फाइनल खेल्न लागेको हो । मलेसिया ४ खेलमा पुछारमा रहँदै बाहिरिएको थियो । नेपालले नेदरल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । तीन विकेटले पराजित हुनेक्रममा २ सय ६ रन बनाएपनि नेदरल्यान्ड्सले तीन बल अगाडि ७ विकेटको क्षतिमा पूरा गर्दै सानदार जित निकालेको थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय