#काठमाडौं

निषेधितक्षेत्रबारे ओलीको स्पष्टीकरण– तोकिएको ठाउँमा आरामले विरोध गर्नुस्, कान खोलेर सुन्छौं

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: June 30,2018


RatoParkhalनिषेधितक्षेत्रबारे ओलीको स्पष्टीकरण– तोकिएको ठाउँमा आरामले विरोध गर्नुस्, कान खोलेर सुन्छौं

 १५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विरोध प्रर्दशन र अभिव्यक्ति स्वतन्त्रतामा किञ्चित पनि बन्देज नहुने स्पष्ट पार्नुभएको छ । तर विरोध र असहमति प्रकट गर्ने कानूनसम्मत र समुचित विधि प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

काठमाडौंका विभिन्न ठाउँमा निषेधित क्षेत्र तोकेर विरोध प्रदर्शनमा रोक लगाइएको सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको प्रश्नको जवाफका क्रममा ओलीले जहाँपनि विरोध गर्दा सर्वसाधारणलाई समस्या परेका कारण ठाउँ तोकिएको बताउनुभएको हो । 

‘निषेधित क्षेत्र, विरोध र असहमति रोक्ने कुरा गरिएको होइन, अधिकारको प्रयोग विधिपूर्वक कानूनसम्मत र समुचित ढंगले हुन्छ । तपाईं भारतमा जानुभयो भने कहाँ–कहाँ विरोध प्रर्दशन, धर्ना बस्न पाइन्छ ?’ उहाँले भन्नुभयो, ‘राष्ट्रपति कार्यालय अगाडि चौर भेटिए नारा लगाउन पाइछ त्यहाँ ? तर जन्तरमन्तरमा जहिले जानु भएपनि आन्दोलन भएको देखिन्छ ।’

विरोध गर्नेहरूले जनतालाई दुःख कष्ट नदिए पनि विरोध हुने उहाँको सुझाव छ । ‘दुनियालाई दुःख दिँदा विरोध, दुःख नदिँदा विरोध नहुने त होइन नि ! आजको प्रधानमन्त्री पनि त्यही ठाउँमा गएको थियो,’ खाणको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ती ठाउँमा मात्र होइन, तानाशाही ढाल्नका लागि दरबारभित्र पसेर पनि कब्जा हुन्छ । लोकतन्त्रमा त्यसो गरिँदैन । तानाशाहीमा विरोध गर्ने ठाउँ हुँदैन ।’

ओलीले परिस्थिति अनुसार विरोधको प्रकृति बदल्नुपर्ने बताउनुभयो । ‘जतिबेला जननिर्वाचित प्रधानमन्त्रीलाई गिरफ्तार गरेर सुन्दरीजल लगिन्छ, त्यो बेलाको विरोध र आजको विरोधलाई एकै ठाउँमा लैजान मिल्छ ?’ उहाँको प्रश्न थियो ।

ओलीले वाक स्वतन्त्रतामा कुनै बन्देज नलाग्ने स्पष्ट पार्नुभयो । ‘यसो भन्दैमा हस्पिटलभित्र नाराजुलुस हुन्छ ? उपचार गर्ने ठाउँमा हडताल, पढाउने ठाउँमा हडताल ? प्राविका अगाडि हडताल र टियर ग्यास यस्तो हुन्छ ?’ ओलीले भन्नुभयो, ‘तोकेको ठाउँमा आरामसँम विरोध गर्नुस् न, विरोध प्रकट गर्न पाउनुपर्छ, सरकारले कान खुला राखेर सुन्छ, आँखा खुला राखेर हेर्छ र दिमाग खुला राखेर सोच्छ ।’

त्यसअघि कांग्रेस सांसद खाडले काठमाडौं उपत्यकाभित्र जनता भेला हुन नपाउने, बोल्न नपाउनेजस्ता निषेधित क्षेत्र तोकिएको सम्बन्धमा प्रधानमन्त्रीसंग जवाफ मागेका थिए ।

‘अहिले निषेधित गरिएका कतिपय ठाउँमा गएर बोल्नुभएको कुरा प्रमलाई जानकारी छ छैन ?’ खाणको प्रश्न थियो ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो