ब्रेकिङ न्युज


#निर्वाचन

कांग्रेसका 'हेभिवेट' लार्इ धक्‍का

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: December 10,2017


RatoParkhalकांग्रेसका 'हेभिवेट' लार्इ धक्‍का

काठमाडौं : मुलुकको प्रजातान्त्रिक आन्दोलनको पर्याय मानिने मोरङमा नेपाली कांग्रेसले पहिलोपटक नराम्रोसँग पराजय भोगेको छ । कोइराला परिवारको विरासतसँग जोडिएको मोरङमा कांग्रेसको पराजयले धेरैलाई स्तब्ध बनाएको छ ।

मोरङ ६ मा पराजय भोगेका कांग्रेस नेता डा. शेखर कोइरालाले लोकतन्त्रको जन्मभूमि विराटनगरको विरासत जोगाउन जस्तोसुकै कठिन मोडमा पनि आफू कटिबद्ध हुने बताएका छन् । उनले अन्नपूर्णसँग भने, ‘चुनावी अभियानक्रममा आफूले उठाउँदै आएका राष्ट्रिय÷अन्तर्राष्ट्रिय मुद्दा पूरा गराउन म अविचलित रूपमा यहाँहरूसँगै रहनेछु । मुलुकका दूरदराजलगायत मोरङवासीको शिर कुनै पनि अवस्थामा झुक्न दिने छैन ।' लोकतन्त्रको सौन्दर्य पक्ष भनेकै निर्वाचन भएकाले यो परिणामलाई सहज रूपमा लिएको उनले बताए ।

सन् १९४७ मा मजदुर आन्दोलन, १९५१ मा राणाविरुद्धको सैनिक संघर्ष र त्यसलगत्तै राणाशासन अन्त्यका लागि ऐतिहासिक आन्दोलनको उद्गमभूमि मोरङ र त्यसको नेतृत्व गर्ने कोइराला परिवारको साखमा यो पराजयले गम्भीर धक्का दिएको छ । मोरङबाट उठेको प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्ने कृष्णप्रसाद कोइराला र उनका तीन छोरा राजनीतिक रूपमा स्थापित हुँदै विरासत कायम गर्न सफल भएका थिए । मातृकाप्रसाद, विश्वेश्वरप्रसाद र गिरिजाप्रसाद कोइराला त्यसै आन्दोलनबाट स्थापित हुँदै प्रधानमन्त्रीसमेत बनेका थिए ।

विराटनगरको मजदुर आन्दोलनलाई नेपालको पहिलो संगठित जनआन्दोलन मानिन्छ । त्यो आन्दोलन कांग्रेसका लागि उपलब्धिपूर्ण भएको पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता बताउँछन् । उनका अनुसार उक्त आन्दोलनमा लागेकै कारण एकैपटक कोइराला परिवारका नौ जनालाई पाता कस्दै २९ दिन हिँडाएर काठमाडौं पुर्‍याइएको थियो । उनले भने, ‘त्यो मजदुर आन्दोलनले कोइराला परिवार मात्र होइन, उनका नातेदार मनमोहन अधिकारीको राजनीतिसमेत उदयमान गरायो ।'

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले ठोस नीति र कार्यक्रमविपरीत निर्वाचन परिचालन, वैचारिक रूपमा संगठन फितलो र नेतृत्व कमजोर रहेको परिणाम कांग्रेस समग्रमै पराजयमा पुगेको बताए । कार्यकर्ता सुविधाभोगी बनेको र सभापति देउवामा नेतृत्व गर्ने क्षमताको अभाव रहेको उनको भनाइ छ । ‘शेरबहादुर देउवा प्रधानमन्त्रीका रूपमा निर्वाचन गराएर पूर्ण सफल भए तर कांग्रेस सभापतिका रूपमा पूर्ण असफल', उनले भने ।

उम्मेदवार चयनमै कांग्रेस कमजोर

मोरङका ६ वटा निर्र्वाचन क्षेत्रमा अन्य दलले तीन जना मधेसी जिताउँदा कांग्रेसले एउटै मधेसी उम्मेदवार उठाउन नसकेका कारण उसलाई घाटा लागेको आचार्यले बताए । उनले भने, ‘कांग्रेसको समुदायसँगको सम्बन्ध सकियो । जसकारण कांग्रेसले आफ्नै जन्मथलो गुमायो ।' मुलुकको राजधानी काठमाडौं भए पनि कांग्रेसको राजधानी मोरङ रहेको उनले बताए । कांग्रेसका अधिकांश नेता तथा कार्यकर्ता पनि काठमाडौंमै रहने भएकाले काठमाडौंमा परिणाम सकारात्मक रहेको उनले टिप्पणी गरे ।

सन् १९५० मा राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकरणबाट जन्मँदै समाजवादी र जनवादी राजनीतिक दलका रूपमा स्थापित कांग्रेसले २००७ सालको राणा हटाऊदेखि ०७२ असोज ३ गते दोस्रो संविधानसभाबाट संविधान जारी गर्नेसम्मका ऐतिहासिक कामको नेतृत्व लिन सफल भयो । तर, त्यही संविधान कार्यान्वयनका लागि भएको निर्वाचनमा उसले शर्मनाक हार व्यहोर्नुमा पार्टी नेतृत्वकै गतिविधिलाई दोष दिन्छन् अधिकांश नेता-कार्यकर्ता ।

प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बीपीदेखि ०४८ यता सातपटक प्रधानमन्त्री भएका उनका कान्छा भाइ गिरिजाप्रसादसम्मले पार्टी र राज्यको नेतृत्वका हैसियतमा महत्वपूर्ण निर्णय लिनुपर्दा गृहनगर विराटनगर नै पुग्थे । गिरिजाबाबुले पछिल्लोपटक १० वर्षे युद्धमा सामेल माओवादीलाई मूलधारमा ल्याउन र कांग्रेसको विधान तथा मुलुकको संविधानबाट राजतन्त्र हटाउनेजस्ता ऐतिहासिक निर्णय विराटनगरबाटै गरेका थिए । उनका त्यस्ता निर्णयमा प्रत्यक्ष-अप्रत्यक्ष भूमिका निभाउने काम भाउजू नोना र भतिजा डा. शेखरले नै गर्थे ।

डा. कोइरालाको सकारात्मक भूमिकाकै कारण माओवादी र तत्कालीन सात राजनीतिक दलबीच ०६२ मंसिर ५ गते दिल्लीमा अप्रत्यक्ष र काठमाडौंस्थित कोइराला निवासमा प्रत्यक्ष रूपमा विशेष पत्रकार सम्मेलनमार्फत १२ बुँदे सहमति भएको थियो । त्यसअगावै गिरिजाबाबुलाई दिल्लीको नोयडामा पटक-पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराईसँग भेट गराउने सूत्रधारका रूपमा समेत उनको भूमिका थियो । यसैगरी, अढाई सय वर्षको राजतन्त्रविरुद्ध गणतन्त्रमा जानका लागि गिरिजाबाबुलाई मनाउनसमेत उनको भूमिका अविस्मरणीय छ ।

डा. कोइराला मात्रै होइन, गिरिजाप्रसादका भान्जा महेश आचार्य मोरङ ४ मा र ५ मा अमृत अर्यालले समेत नराम्ररी पराजय व्यहोरे ।

गगनले जगाए आशा

कांग्रेस युवा नेता गगनकुमार थापाको विजयले कांग्रेस कार्यकर्तामा खुसीको लहर ल्याएको छ । उनको जितले कांग्रेस कार्यकर्तामा खुसी ल्याउनुमा उनी सबै वर्ग, उमेर र लिंगसामु साझा व्यक्तित्वका रूपमा उदीयमान हुनु हो । तर, उनी आफैं भने आफ्नो जितप्रति त्यति खुसी छैनन् । आफूले पाएको मतपरिणामलाई उनले ‘सबैभन्दा ठूलो दुर्घटना' भनेका छन् । ‘पार्टीको पराजयका विषयमा तुरुन्त र हल्का टिप्पणी गर्नुहुन्न । यद्यपि, यो विषय यत्तिकै जाँदैन र जानु पनि हुँदैन । एक जनाले दोष बोकेर पनि हुँदैन । सिंगो कांग्रेस नेतृत्व पराजयमा दोषी छ', उनले भने । राष्ट्रिय सभागृहमा निर्वाचन विजयको प्रमाणपत्र लिँदै उनले आफू निर्वाचनक्रममा सबैभन्दा धेरै प्रोपोगन्डाको सिकार बनेको बताए ।

कांग्रेसको विरासत कोइरालामा

कांग्रेसले आफ्नो आधारभूमिमा नराम्ररी पराजय व्यहोरे पनि डा. शशांक कोइरालाले भने नवलपरासीबाट कोइराला परिवारको साख जोगाएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका उनी १३ औं महाधिवेशनबाट पार्टी राजनीतिमा उदाएका हुन् । महामन्त्री कोइराला र पार्टी सभापति शेरबहादुर देउवाबाहेक पार्टीका ‘हेभिवेट' नेताहरूले यसपटक नराम्ररी पराजय व्यहोरेका छन् । भीष्मराज आङदम्बे, रोमी गौचन थकाली, अम्बिका बस्नेत, ध्यानगोविन्द रञ्जित, मोहन बस्नेत, नवीन्द्रराज जोशी, दलबहादुर घर्तीलगायत चर्चित नेता यसपटक संसदीय मोर्चाबाट बाहिरिएका छन् ।

मोरङ मात्रै होइन, यसअघिका निर्वाचनमा वर्चस्व लिँदै आएको सुदूरपश्चिममा समेत उसले नमीठो हार व्यहोरेको छ । ०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमाञ्चलमा एक सिट छाडेर १७ सिटमा कांग्रेस विजयी भएको थियो । तर, मंसिर १० र २१ गते भएको निर्वाचनमा शनिबार राति नौ बजेसम्ममा सभापति शेरबहादुर देउवाबाहेक कसैले जितेका छैनन् ।

 

अन्नपुर्णपोष्ट बाट


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय