#डक्टर्स आर्टिकल

कस्ता बिरामीलाई लगाइन्छ ‘करेन्ट’?

डा. रितेश थापा

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: July 14,2017


RatoParkhalकस्ता बिरामीलाई लगाइन्छ ‘करेन्ट’?

नेपालमा मानसिक रोगबारे चेतनाको कमी छ भन्ने कुरामा दुईमत छैन। कुन हदसम्म अज्ञानता छ भन्ने चाहिँ ठूलो प्रश्न हो। चेतनाकै अभावले गर्दा मानसिक रोग बैलैमा पहिचान नहुने र उपचार नपाउने अवस्था छ। त्यसैले स्वास्थ्यको यस्तो अभिन्न पक्षलाई हेला गरिएको पाइन्छ। यसबारे भ्रम पनि उत्तिकै छ। तर, विश्व जगतमा मानसिक रोगको उपचारमा विभिन्न पद्दति अपनाइन्छ र अनुसन्धानहरु पनि भइरहेका छन्। कुनै पनि मानसिक रोगको उपचारमा औषधि, मनोपरामर्श तथा अन्य तरिका अपनाइन्छ। जसमा विद्युतीय माध्यमबाट गर्ने उपचार ‘इलेक्ट्रो कन्भल्सिभ थेरापी’ (इसिटी) अर्थात् बोलिचालीको भाषामा ‘करेन्ट लगाउने’ विधि पनि पर्छ।

यो उपचार पद्दति निकै पुरानो हो। अझै पनि विश्वभरि नै यसको प्रयोग गरिन्छ। सन् १९३८ देखि इसिटीको प्रयोग हुँदै आएको छ। 

तर, यो विधिको उपयोगमा विभिन्न अवरोध नआएका होइनन्।

कुनै बेला मानसिक रोग र यसका उपचारविरुद्ध जनसागर नै ओर्लिएर आएको थियो। मानव अधिकारवादीहरुले यसको विरोध गरे। ‘मानसिक रोग लाग्यो भनेर ‘मेन्टल असाइलम’मा थुनेर राख्ने र करेन्ट लगाइदिने पाप हो र मानवअधिकार हनन हो’ भनेर रोक लगाए, भ्रम फिजाए। सञ्चार माध्यमहरुले पनि यसबारे सकारात्मक समाचार र यथार्थ देखाएनन्। नेपालमा हिन्दी फिल्मको प्रभाव धेरै छ। यस्ता फिल्महरुमा पनि यो पद्दतिबारे नकारात्मक तरिकाले नै प्रस्तुत गरिएको देखिन्छ।

के हो त इसिटी?

इसिटीलाई ‘सक थेरापी’ पनि भन्ने गरिन्छ। जसमा विद्युतीय मेसिनबाट थोरै र नियन्त्रित तरिकाले बिरामीमा इलेक्ट्रिक करेन्ट दिइन्छ। जसले गर्दा केही बेरका लागि बिरामीमा छारे रोगजस्तै कम्पन आउँछ, अनि ठिक हुन्छ। 

कसलाई दिइन्छ?

यसको प्रयोग सबै किसिमका मानसिक रोगका लागि गर्न मिल्छ तर सबैलाई उतिकै फाइदा नहुन सक्छ। धेरैजसो औषधिले ठिक नभएका बिरामीका लागि यो विधि अपनाइन्छ। डिप्रेसन, साइकोसिस जस्ता कडा मानसिक रोगले गर्दा कहिलेकाहीँ बिरामीहरु खाना खान छोड्छन्, बोल्न छोड्छन्, पानीसम्म पिउन मान्दैनन्। जुनै बेला सुतिरहन्छन्। ‘क्याटाटोनिया’ भनिने यस्तो अवस्थाका बिरामीलाई त इसिटीले चमत्कार गर्न सक्छ। आक्रामक र नियन्त्रण गर्न नसकिने बिरामीलाई यो विधिले काम गर्छ। 

त्यस्तै, गर्भवती महिलामा मानसिक रोग लागेमा औषधि दिनुभन्दा इसिटी गर्नु उपयुक्त मानिन्छ। बच्चा जन्मिसकेको अवस्थामा कडा मानसिक रोग लागेमा आमाले बच्चाको उचित हेरचाह गर्न सक्दैनन्। बच्चालाई असर नपुगोस् भनेर त्यस्ता सुत्केरीलाई छिटो निको पार्न इसिटी दिइन्छ। 

कडा डिप्रेसनमा बारम्बार आत्महत्या गर्ने सोच आउने र आत्महत्याको प्रयास गर्ने हुनाले बिरामीको ज्यान जोखिममा हुन्छ। मनोपरामर्श वा औषधिले त्यस्ता बिरामीलाई ठिक गर्न निकै समय लाग्छ। इसिटीमार्फत छिटो उपचार गरेर बिरामीको ज्यान जोगाउन सकिन्छ। 

इसिटी कहाँ–कहाँ गरिन्छ र यसका आधार के हुन् भन्ने जिज्ञाशा धेरैले राख्ने गरेका छन्। 

जहाँ–जहाँ मानसिक रोगको उपचार हुनेगर्छ, त्यहाँ इसिटी गरिन्छ । कुनै पनि मानसिक रोगको उपचारका लागि बनाइएको आचारसंहितामा यसको प्रयोग गर्नु भनेर उल्लेख गरेको पाइन्छ। 

प्रायः बच्चाहरुमा यसको प्रयोग गरिँदैन। विश्वमा ८० वर्षभन्दा माथिको बिरामीलाई पनि यो विधिबाट उपचार गरिएका उदाहरण छन्। हृदयघात भएका वा अन्य मुटुका रोगीहरुमा पनि इसिटीको प्रयोग हुने गरेको छ। कसैलाई इसिटी दिनै नमिल्ने भन्ने अवस्था खासै छ्रैन। तर, इसिटी चलाउनुअघि केही जाँचहरु गर्नुपर्छ। खासगरी, मुटुको इसिजी, टाउकाको सिटि स्क्यान, इसिजी, रगत, छाती आदि जाँच गर्नुपर्छ। 

करेन्ट लगायो भने दिमाग खत्तम हँुदैन र? भन्ने एकथरि प्रश्न आउने गर्छ। त्यस्तो होइन। करेन्ट लगाउने भन्नेबित्तिकै बिजुलीको तारले लगाउने होइन। यो त अत्याधुनिक प्रविधिमा बनाइएको मेसिनबाट एकदम कम पावरको विद्युत दिने हो। विश्वमा यसबारे धेरै अनुसन्धान गरिएको छ। मेसिन र प्रविधिमा धेरै सुधार गरिएको छ। 

यस्तै, अर्को प्रश्न ‘करेन्ट लागेर मान्छे मर्ने त हुँदैन?’ भन्ने छ। इसिटी गरेर मान्छे मर्ने भन्ने हुँदैन। नेपालमा पनि वर्षौंदेखि इसिटीको सफल प्रयोग गरिँदै आइएको छ। अहिलेसम्म मृत्यु भएका घटना एकदमै न्यून छन्। इसिटीबाट हुने मृत्युदर एक लाखमा १–२ हुनु भनेको एकदमै न्यून हो। तर, इसिटी दिएलगतै भने केही समयका लागि होस गुमाउने वा स्मरण शक्तिमा कमी आउने हुन्छ। केही समयको अन्तरालमा त्यो आफैँ ठिक हुन्छ। 

कत्तिको खर्चिलो छ?

यो सस्तो उपचार विधिमा पर्छ। यसको प्रयोगबाट अस्पतालमा बस्ने समय र औषधिको मात्र कम पर्ने हुनाले बिरामीको खर्च कम हुन्छ। प्रायःजसो बिरामीलाई ६ देखि १२ पटकसम्म इसिटी लगाइन्छ। महिनामा एक पटक ‘मेन्टेन्स डोज’ लगाउन पनि मिल्छ। मेन्टेन्स डोजका लागि अस्पताल भर्ना हुनु पर्दैन।

इसिटीबारे भ्रम र कम जानकारीका कारण जनमानसमा एकखाले त्रास देखिन्छ। करेन्ट भन्ने बित्तिकै डराउने, तर्सिने गर्छन् बिरामीका आफन्त। यो मानसिकताबाट बाहिर निस्कन जरुरी छ। यो एकदमै कम खर्चिलो, भरपर्दो र राम्रो उपचार पद्दति हो।

(डा. थापा ‘रिदम न्युरोसाइक्याट्री हस्पिटल एन्ड रिसर्च सेन्टर’ एकान्तकुना, ललितपुरका निर्देशक हुन्।)

स्वास्थ्य खवरपत्रिकाबाट साभार


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो