ब्रेकिङ न्युज


#सामाजिक

आज जनैपूर्णिमा, रक्षा बन्धन र क्वाँटि खाने दिन

ईखबरपत्रिका समाचार

प्रकाशित मिति: August 15,2019


RatoParkhalआज जनैपूर्णिमा, रक्षा बन्धन र क्वाँटि खाने दिन

आज रक्षाबन्धन तथा जनै पूर्णिमा (ऋषि तर्पणी) । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाईने यो पर्व देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ ।
वैदिक सनातन धर्मालम्बीहरुले आज विहानै देखि नदी, तलाउ, पोखरीमा गई स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । विधिपूर्वक गुरुपुरोहितले मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहि आएको छ ।
सत्ययुगमा दानवबाट लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अन्त्य बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसै कारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले “येन बद्धो बलिराजा दानवेन्दो महाबल तेन त्वा प्रतिबध्नामि रक्षेमा चलमाचल” भनी रक्षासूच रक्षाबन्धन अथवा डोरो बाँधने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात डोरो वैदिक परम्पराको मन्त्रोच्चरण गर्दै ब्राम्हण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।
यसै दिन ब्राम्हण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आप्mनो जनै फेर्नुपर्न विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी ब्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन र सप्तमुक्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।
स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रम्हसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न विहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक, वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
त्यसैगरी आज जनै पूर्णिमाको दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाईन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र बर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकारी भित्रदेखि नै ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
आजकै दिन नेपालको तराईक्षेत्रमा दिदीबहिनीहरुले आप्mनो दाजुभाइलाई हातमा राखी बाँधेर मनाईन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बिचको सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।


फेसबूक बाट प्रतिकृया दिनुहोस् :

भिडियो


लोकप्रिय